रुम-ताराखोला सडकमा मार्ग खुलेको ५ वर्षपछि यातायात सञ्चालन
म्याग्दी | फागुन ६, २०८१
तस्बिर फाइल
म्याग्दी: जिल्लाको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडकमा मार्ग खुलेको पाँच वर्षपछि यातायातका साधन सञ्चालन हुन थालेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा मार्ग खुलेको रुमबाट खवाङ हुँदै ताराखोला जोड्ने १३ किलोमिटर सडकमा खसेको पहिरो, ग्रेड र घुम्ती नमिलेका कारण यातायातका साधन सञ्चालन हुनसकेका थिएनन् ।
मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयबहादुर बुढाथोकीले पाँच वर्षअघि मार्ग खुलेको सडक मर्मत गरेर जिप, मोटरसाइकल र ट्रयाक्टर सञ्चालन गरेपछि रुम, निस्कोट, डाडागाउँ र ताराखोलाका एक हजार बढी घरपरिवार लाभान्वित भएका बताउनुभयो ।
“यसअघि मार्ग मात्र खोलिएको सडकमा यातायातका साधन सञ्चालन हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “यसपालि वडाको बजेटबाट सडक सरसफाइ गरेर यातायात सेवा सुरु गरेका छौँ ।” रुम म्याग्दीको धेरै जनसङ्ख्या भएको वडा हो । रुमबाट ताराखोला पुग्न चार घण्टा पैदलयात्रा गर्नुपर्नेमा गाडी चल्न थालेपछि एक घण्टामै पुग्न सकिने भएको छ ।
रुमबाट ताराखोला हुँदै बागलुङको गलकोटमा मध्यपहाडी राजमार्गसँग जोडिने सडकलाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । यो सडक भएर म्याग्दीको मालिका, धवलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई बागलुङ हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार जान आउन नजिक पर्छ ।
म्याग्दी क्षेत्र नं १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गलकोटबाट ताराखोलाको घुस्मेलीसम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेलीबाट करिमेला खण्डको चार किलोमिटर स्तरोन्नतिको सुरु भएको र रुमबाट ताराखोलातर्फ स्तरोन्नतिका लागि यस वर्ष बहुवर्षीय ठेक्का लगाउने तयारी भएको बताउनुभयो । ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण सुरु भएको छ ।
प्रदेश सरकारका पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रि समेत रहेका जुग्जालीले चालु आर्थिक वर्षमा रु. ३० लाख बजेट बिनियोजन भएको रुम–ताराखोला सडक योजनाका लागि थप रु। ३० लाख बजेट व्यवस्था गरेर रु. तीन करोड बराबरको बहुबर्षीय ठेक्का आव्हानका लागि प्रदेश सरकारलाई सिफारिस गरिएको बताउनुभयो ।
यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट अदिभारा–ताक्से–बिलबाङ हुँदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । दश वर्षअघि स्थानीयवासीले चन्दा सङ्कलन र तत्कालीन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रूपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि दुई वर्षदेखि यातायात बन्द गरेर स्तरोन्नतिको काम थालिएको थियो ।
वडाध्यक्ष बुढाथोकीका अनुसार सङ्घीय सरकार र मालिका गाउँपालिकाको ५०/५० प्रतिशत साझेदारीमा आव २०७९/८० मा रु दुई करोड ४० लाख, २०८०/८१ मा एक करोड ६० लाख र चालु आव २०८१/८२ मा विनियोजन भएको रु चार करोड बजेटबाट ठेक्कामार्फत टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउन योजना सञ्चालन भएको छ ।
अदिभारा–स्याउलीबाङ–औला–बेली–जेम हुँदै रुम जोड्ने घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा–टाक्से हुँदै २० मिनेटमै रुम पुग्न सकिने वडाध्यक्ष बुढाथोकीले बताउनुभयो । बस सञ्चालन गर्न मिल्ने गरेर सडक स्तरोन्नतिको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

